संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा रचित शब्दमा ‘पहराकी फूल’ गीत विमोचन भएको छ।
मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडिओ विमोचन गरेका हुन्। उनले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताए।
‘संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने। हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो। त्यही बेला लेखेको गीत हो यो, अहिले पदीय जिम्मेवारीमा रहँदा विमोचन गर्ने अवसर मिल्यो,’ उनले भने।
विमोचन कार्यक्रमका अवसरमा उनले आज सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरणसमेत गरे।
‘आजकै दिन काभ्रेको अनेकोटमा च्याङ्बा लामासहित चारजना कलाकारले सहादत प्राप्त गर्नुभएको थियो। उहाँहरूको सम्झना र सम्मानमा यो गीत सार्वजनिक गरिएको हो,’ उनले भने।
‘पहराकी फूल’ गीतको संगीतकार शान्ति राई, गायक रूपकुमार राई र निर्देशक किरण चाम्लिङ हुन्।