चलचित्र विकास बोर्डले भारतीय फिल्ममेकर अनुपम बर्वेका साथमा आयोजना गरेको तीन दिने फिल्मको पटकथा लेखन तथा निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ।
आइतबार बोर्डको हलमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला समापन गरिएको हो। चैत्र ३ देखि ५ गतेसम्म सञ्चालित कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। पामे फिल्म फेस्टिभलले कार्यशाला व्यवस्थापन गरेको थियो।
अनपम बर्वेले आफुले नेपालमा केही अनुभवी तथा नयाँ फिल्ममेकरहरूसँग तीन दिन बिताउन पाएकोमा खुशी व्यक्त गरे।
‘मैले भिन्न वातावरणमा फरक अनुभुति गरेको छु। मलाई नेपाल बोलाएर यस कार्यशालाको प्रशिक्षक बन्ने मौका दिएकोमा म चलचित्र विकास बोर्डलाई धन्यवाद दिन चाहन्छु। प्रशिक्षार्थीहरूले मसँग बाँड्नु भएका कथा र कथाका शैलीहरू मेरो लागि पनि निकै नयाँ थिए र मैले पनि सिक्ने अवसर पाएँ,’ उनले भने।
बोर्ड अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेको बताए।
‘स्क्रप्टिङ, कास्टिङ, निर्देशन, र पोस्ट-प्रोडक्सनसम्मको अवधारणाको विकासदेखि फिल्म निर्माणका सबै पक्षहरूलाई कार्यशालामा समेटेका छौं,’ उनले भने।
प्रशिक्षार्थीको रूपमा सहभागि फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले भने, ‘हामी फिल्ममेकरहरूले कहिले पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन।’