चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली फिल्महरूको आवेदन माग गरेको छ।
बोर्डले २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा पुरस्कार प्रदानका लागि नेपाली फिल्महरूको आवेदन माग गरेको हो।
त्यस्तै, विशेष फिल्मको प्रतिस्पर्धाको लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली फिल्महरूको आवेदन माग गरेको छ।
आइतबार सूचना जारी गर्दै बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्रका फिल्महरूलाई आवेदन दिन माग गरेको हो।
राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भई प्रदर्शन समेत भएको हुनुपर्ने र विशेष फिल्मको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका फिल्मले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए।
आदिवासी, जनजाति एवम् विभिन्न मातृभाषाका फिल्मको हकमा भने उक्त समयसीमा भित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन्।
राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिनु पर्नेछ।
विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष फिल्म घोषणा हुन सकेको थिएन।
यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका फिल्मले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष फिल्मले दुई फरक वर्षका ३-३ वटा फिल्म गरी छ वटा घोषणा हुनेछन्।
विशेष फिल्म घोषणा हुने सबै फिल्महरूलाई अन्तर्राष्ट्रिय भाषामा सबटाइटलमा हुने खर्च स्वरूप प्रति फिल्म दुई लाख रूपैयाँ बोर्डले प्रदान गर्ने गर्दछ। साथै, विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिताको लागि बोर्डले सहजीकरण गर्ने गर्दछ।
उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद), उत्कृष्ट छायांकन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्मलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने छ। उल्लेखित विधाबाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुने गर्दछ।