नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा हुने भएको छ।
तीन चरणमा हुने यो फेस्टिभलको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही वैशाख १५ देखि १७ (अप्रिल २८-३०) सम्म चल्नेछ।
महेन्द्रनगरपछि वैशाख २०, २१ र २२ गते (मे ३-५) मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ।
फेस्टिभलको अन्तिम प्रर्दशनी काठमाडौंको चाबहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ (१२-१५ मे) सम्म आयोजना हुनेछ।
सोमबार काठमाडौंस्थित भएको पत्रकार सम्मेलनमा नेपालमा युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी दिएकी हुन्।
फेस्टिभलको यस संस्करणको मूल विषयवस्तु सबैका लागि मानव अधिकार उत्सव रहेको छ।
‘यो वर्ष मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष भएको छ। यसै सन्दर्भमा हामीले चलचित्र महोत्सवको लागि ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने मूल विषय छानेका छौं। यसको उद्देश्य आममानिसमा उनीहरूको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने रहेको छ,’ नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले भनिन्।
सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौंमा आयोजना हुने महोत्सवमा युरोपका ख्यातिप्राप्त निर्देशकहरूले निर्देशन गरेका आठ वटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकहरूले निर्माण गरेका छोटा फिल्महरू प्रदर्शन गरिनेछन्।
महोत्सवको क्रममा युरोपियन युनियन नेपालले ‘मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’ र ‘फिल्मलाई कसरी बुझ्ने?’ विषयक छलफल पनि आयोजना गर्नेछ।
सुदुरपश्चिम, मध्यपश्चिम र काठमाडौं तीनवटै ठाउँहरुको महोत्सवको सुरुमा ह्यामी रामेजनद्धारा निर्देशित ‘एनी डे नाउ’ भन्ने फिल्मको प्रदर्शनीबाट हुनेछ।
महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरूमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशन गरेका इनभिजिबल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्याण्डस्) रहेका छन्।
यसैगरी महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरू प्रदर्शन गरिनेछन्। जसमा अंकित खड्गीको निर्देशनमा बनेको ‘आई वान्टेड टु बी लाइक माधुरी दिक्षित’, विशाल रोक्का मगरको ‘गोर्खा गर्ल’ र ग्रिष्म गिरीको ‘ब्लुज अफ पिंक’ रहेका छन्।
नेपाली युवा फिल्म निर्माताहरूका अन्य फिल्महरुमा मिन्सो लिम्बुको जुनको, सुनिल पाण्डेको बागथान, पुनम पौडेलको लिभिङ विथ डिग्नीटी, दीपक रौनियारको फोर नाइटस् र दीपा श्रेष्ठको ड्रिफ्टििङ क्लाउडस् रहेका छन्।
महोत्सवको क्रममा देखाइने तिनवटा युरोपियन फिल्महरू एनीडे नाउ, मित्र र इमादज चाईल्डहुडमा नेपाली उपशीर्षक पनि हुनेछन्।