विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म 'हल्कारा' को गीत सार्वजनिक भएको छ।
मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘जीवन कठै बरी’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा गायक प्रकाश सपूत र देवी घर्तीको स्वर रहेको छ।
गीतको भिडिओमा केही संवादहरू राखिएको छ। गीत तथा संवादहरूले वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ। गीतमा प्रकाश सपूतकै शब्द तथा संगीत रहेको छ।
फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ। फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापामगर मियाको भूमिकामा छिन्।
कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्।
यो फिल्म वैशाख २९ गतेदेखि प्रदर्शन हुँदैछ।
‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
यसैगरी फिल्म नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।