विश्व मजदुर दिवस (मे १) का अवसरमा पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’ ले सोमबार काठमाडौंमा आफ्ना कविता सुनाउने भएका छन्।
थापागाउँस्थित मण्डला थिएटरमा कन्सेप्ट नेपालले आयोजना गर्ने ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा उनले एक दर्जन कविता सुनाउनेछन्।
उनको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ लोकापर्णसँगै एकल वाचनसमेत हुन लागेको हो।
साथै उनलाई ५१ हजार रूपैयाँ नगदसहित सम्मान गरिने कार्यक्रम संयोजक अमृत भादगाउँलेले जानकारी दिए।
‘उहाँको संघर्षपूर्ण जीवन प्रेरणादायी छ’, भादगाउँले भन्छन्, ‘गुजाराका लागि जीवनभर ज्यालामजदुरी गर्दै आएका स्रष्टाको सम्मानमा हामीले कार्यक्रम गर्न लागेका हौं।’
बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृतिमा ३३ वटा कविता छन्। उनका सिर्जनामा शोषित, पिडित, भुइँमान्छेका आवाज प्रतिविम्वित हुन्छन्।
६० वर्षको उमेरमा हिँडिरहेका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फोर्ने र प्रसाद बनाउने काम गर्छन्। विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंग रोगन गरे।
पुर्ख्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्। प्रकाशनका लागि उनका थुप्रै पाण्डुलीपि तयार छन्।
स्मरण रहोस, कन्सेप्ट नेपालले विगतमा वि.सं. २०७५ फागुन ११ गते काठमाडौंमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उनलाई गायनमा पुनरागमन गराएको थियो।
साथै उसले पर्यटन साहित्य प्रवर्द्धन गर्न खप्तड काव्ययात्रा–२०७५, फोक्सुन्डो काव्ययात्रा–२०७६ र आँपस्वारा काव्ययात्रा–२०७९ आयोजना गरिसकेको छ। ती ठाउँको प्रवर्द्धन गर्न काव्ययात्रा कोशेढुंगा बनेका थिए।