मैले 'काबुल एक्सप्रेस' युट्युबमा, 'लुडो' नेटफ्लिक्समा हेरेको हुँ।
'देली बेली' को 'लाइक आई लभ यू', 'चेन्नई एक्सप्रेस' को 'लुंगी डान्स' गीत त टेलिभिजनमै कैयौं पटक हेरेको थिएँ।
काबुल एक्सप्रेसका जोन अब्राहम, अर्सद वार्सी, लुडोका अभिषेक बच्चन, आदित्य रोय कपुर, राजकुमार राव, पंकज त्रिपाठी, सान्या मल्होत्रा मेरा लागि चिरपरिचित अनुहार हुन्।
लाइक आई लभ यूमा देखिने आमिर खान, लुंगी डान्सका शाहरूख खान र दिपिका पादुकोणलाई नचिन्ने त को होला?
शुक्रबार साँझ भरतपुरस्थित दियालो फुडल्याण्डको सानो हलमा मेरो भेट अन्जन गजुरेलसँग भयो। उनी बलिउडमा छन् भन्नेबाहेक मलाई केही पनि थाहा थिएन।
मैले माथि उल्लेख गरेका सिनेमा र गीतहरूमा कलाको जादु चलाउने व्यक्ति त उनै गजुरेल रहेछन्।
धनुषाको मिथिला नगरपालिकामा पर्ने लालगढमा जन्मेर हुर्किएका गजुरेल अहिले बलिउडमा चिरपरिचत नाम हो। बलिउड सिनेमाको कला निर्देशन र निर्माण डिजाइनमा वर्षौंदेखि उनको जादु चल्दै आएको छ।
तर पर्दा पछाडिको काम भएकाले उनको चर्चा बाहिर कमै सुनिन्छ।
गजुरेलमा कलाप्रतिको रूचि सानैदेखि थियो। यही रूचिले उनलाई जनकपुरको विद्यालय शिक्षा पूरा गरेपछि काठमाडौंको ललित कला क्याम्पससम्म पुर्यायो। उनले फाइन-आर्टमा प्रविणता तह उत्तीर्ण गरे।
त्यसपछिको पढाइका लागि उनीसामु अमेरिका, अष्ट्रेलिया, भारतमध्ये कुनै देश जाने विकल्प थियो। भारतमा पनि विभिन्न सहरहरू विकल्पमा थिए। फाइन-आर्टको लगावले उनलाई मुम्बई पुर्यायो। सन् १९९८ मा उनी जेजे स्कुल अफ आर्टमा भर्ना भए।
'मुम्बईमा मैले भर्ना हुँदादेखि नै संघर्ष गर्नुपर्यो। नेपालमा धेरै सिकिसकेँ जस्तो लाग्थ्यो। त्यहाँ पुगेपछि थाहा भयो मैले त केही जानेको रहेनछु। धेरैतिरबाट खारिएर आएका उत्कृष्ट विद्यार्थीहरू त्यहाँ रहेछन्। सबैभन्दा कमजोर त मै थिएँ होला। विश्वकै चर्चित आर्ट कलेजको सिकाइले मेरो हातमा निखारता ल्यायो,' गजुरेलले सुनाए।
जेजे स्कुलका क्लास टिचरले उनलाई पहिलो दिनमै कक्षाबाट निष्कासन गरेका थिए। कारण थियो सुरूको दिनमा दस वटा स्केच तयार नगर्नु। मुम्बईका लागि विल्कुलै नयाँ उनलाई स्कुलको नियमबारे थाहै थिएन। पहिलो दिनमै दस वटा स्केच देखाउनुपर्ने नियम त्यहाँको रहेछ।
पछि स्कुलमा भएको एक प्रदर्शनीमा उनले बनाएका स्केचले शिक्षकहरूको मन जित्यो। पहिलो दिनमै कक्षाबाट निष्कासन गरेका शिक्षक त्यो स्केच देखेर भावुक बने। गजुरेल सबैका प्रिय बन्न थाले।
फाइन आर्टको डिग्री लिएपछि उनले साथीसँग मिलेर एउटा आर्ट ग्यालरीमा प्रदर्शनी चलाए। त्यहाँ उनले बनाएका ४० वटा पेन्टिङ थिए। ती पेन्टिङको पनि धेरै तारिफ भयो। तर दुई–चार वटाभन्दा बढी बिक्री भएनन्।
'धेरैले पेन्टिङ बुक गरे तर लिन आएनन्। तारिफ यति धेरै भयो कि सुन्दासुन्दा कान पाकेर पिप नै आउँछ कि झैं लाग्थ्यो,' गजुरेलले भने, 'पहिलो प्रदर्शनीले नै मलाई फाइन आर्टप्रति निराश बनाएको थियो।'
त्यसपछि उनले सिनेमातिर रूचि बढाए। त्यतिखेर बलिउड सिनेमामा नयाँ प्रविधिको प्रयोग बढ्दै थियो। त्यसलाई उनले नजिकबाट नियालिरहेका थिए। तर बलिउड प्रवेश एउटा सामान्य नेपालीका लागि सहज थिएन।
एक दिनको कुरो हो, एउटा पार्टीमा चिनेजानेका व्यक्तिले उनको पढाइ र कामको बारेमा चासो राखे। गजुरेलले वास्तविकता बताए।
'उहाँले नै मलाई बालाजी सिनेमाजमा काम गर्ने रवि भट्टराईसँग भेटाउन लैजानुभयो। कुरूप गल्लीको भित्र असाध्यै सुन्दर स्टुडियो रहेछ। ओहो, त्यो त शाही दरबार जस्तै थियो। त्यो स्टुडियोलाई कला निर्देशकले आवश्यकताअनुसार डिजाइन गर्दा रहेछन्,' गजुरेलले भने, 'म त्यो सब देखेर दंग परेँ। मैले पढेको विषयको काम यहाँ पनि लाग्छ कि भन्ने लाग्यो।'
तर त्यतिखेर पढेकाभन्दा परेर जानेकाले यो काम गर्थे। त्यहाँका निर्देशकहरूले उनलाई यति धेरै पढेको मान्छेले यो काम गर्नु हुँदैन भनेका थिए।
गजुरेलमा भने आफूले पढेको 'आर्ट' लाई यो क्षेत्रमार्फत जीवित राख्न सकिने आशा पलायो। लगत्तै उनले काम पनि पाइहाले। उनले बालाजी सिनेमाजका कला निर्देशक रजत पोदारको सहयोगी बनेर काम सुरू गरे। करिअरको सुरूआत उनले 'कसौटी जिन्दगी की' को सहायक कला निर्देशक बनेर गरे। सोही स्टुडियोमा निर्माण भइरहेको 'कुछ आपना सा', 'इत्ती सी खुसी' जस्ता टेलिसिरियलमा पनि उनले काम गर्ने अवसर पाए।
कला निर्देशक पोदारको सहयोगले उनी छिट्टै निर्देशक बने।
'केही वर्षमा त म कसौटी जिन्दगी कीको कला निर्देशक नै बनेँ,' उनले सुनाए।
बिस्तारै गजुरेलको माग बलिउड सिनेमा पनि हुन थाल्यो। उनले फिल्म 'काबुल एक्सप्रेस' को कला निर्देशकको जिम्मेवारी पाए। यो उनले पहिलो पटक कला निर्देशन गरेको बलिउड सिनेमा हो। त्यसअघि उनले सहायक निर्देशक बनेर 'साया', 'मर्डर', 'इन्तिहा' जस्ता फिल्ममा काम गरेका थिए।
गजुरेलले 'लुडो', 'विल यु म्यारी मी', 'क्यारी अन कुत्तो', 'राम भजन जिन्दावाद' लगायत सिनेमामा कला निर्देशन गरेका छन्।
'हाम्रो ध्यान सेटलाई कसरी वास्तविक जस्तै बनाउने भन्नेमा नै केन्द्रित हुन्छ,' उनले भने।
उनले अहिले कार्तिक आर्यन र कियारा आडवाणीले अभिनय गर्ने 'सत्यप्रेम की कथा' र अनुपम खेर, आदित्य रोय कपुर रहेको 'लाइफ इन अ मेट्रो' को सिक्वेल 'मेट्रो इन दिनों' मा काम गरिरहेका छन्।
उनी कथाको मागअनुसारको सेट तयार पार्न धेरै मेहनत गर्छन्। उनले कोरेको स्केचअनुसार सिनेमाको सेट तयार हुन्छ।
'बलिउडमा सलमान खानबाहेक सबैजसो कलाकारसँग काम गर्ने अवसर पाएको छु। समय अभावका कारण धेरै काम लिन सकेको छैन,' गजुरेल भन्छन्, 'जति काम गर्छु स्तरीय गर्छु।'
उनले अरूले गर्न नसकेको काम गर्न पाउँदा असाध्यै आनन्द आउने बताए।
'हाम्रो काम वास्तविकको नक्कल गर्ने हो। बजेट आफ्नो ठाउँमा छ, तर यसको प्रयोग यस्तो ठाउँमा गरूँ जुन कसैले नगरेको होस्। म अरू कसैले सोच्न पनि नभ्याएको काम गर्न चाहन्छु,' उनले भने, 'मैले गरेको कामको हलिउडले पनि फलो गरोस् भनेर काम गर्छु।'
गजुरेलले नेपाली चलचित्र कोहिनुरको पनि कला निर्देशन गरेका थिए। उनले नेपाली रियालिटी शो 'सारेगम लिटिल च्याम्प', 'क्राइम पेट्रोल' को पनि कला निर्देशन गरेका छन्। रियालिटी शोहरू स्टुडियोभित्र गरिने भए पनि नेपाली चलचित्रहरू प्रायः बाहिर छायांकन गर्ने चलन छ।
'नेपाली चलचित्रको बजार सानो छ। त्यसैले यसको लगानी पनि कम हुन्छ। कम लगानीले स्तरीय स्टुडियोमा, स्तरीय सेट बनाएर काम गर्न सम्भव हुँदैन,' गजुरेल भन्छन्, 'त्यसैले यहाँ सानो बजेटले धान्नेगरी बाहिरै सुटिङ गर्ने चलन छ।'
बलिउडमा सेट डिजाइनकै लागि मात्रै २० देखि ५० करोडसम्म खर्च हुने गरेको उनले सुनाए।
'एउटै चलचित्रको लागि सयौं कामदारहरू सेट डिजाइनमा खट्छन्। बनाउने र भत्काउने क्रम चलिरहन्छ। सामान्य कुरामा चित्त नबुझे भत्काएर बनाइहाल्नु पर्छ। कहिलेकाहीँ त एउटै घर ३–४ पटक भत्काउनु परेको छ। कैयौं दिन र करोडौं खर्च यसमा लाग्छ,' उनले सुनाए।
काम अनुसारको पारिश्रमिक पाउने भएकाले बलिउडमा कामदारको अभाव छैन। गजुरेलले एउटा सिनेमामा काम गरेको २० देखि ३० लाख भारतीय रूपैयाँ लिन्छन्। सामान्य कामदारले पनि मासिक २० हजार भारतीय रूपैयाँभन्दा बढी तलब बुझ्छन्।
४५ वर्षीय गजुरेल सिनेमा बाहेकका घर, व्यावसायिक प्रतिष्ठानको पनि डिजाइन तयार पार्छन्। फुर्सद समयमा क्यान्भासमा रङ भर्छन्। कुनै समय फाइन आर्टको पढाइ पूरा गरेर पनि सोचेजस्तो काम नपाउँदा निराश बनेका गजुरेललाई अहिले त्यतिखेरकै पढाइले सघाइरहेको छ। कक्षामा गरेको मेहनतको फल अहिले पाइरहेको बताउँछन् उनी। बलिउडमा चर्चित निर्देशक, कलाकारहरूले तारिफ गरेको सुन्दा आफूले गरेको कामप्रति खुसी लाग्ने गजुरेलले बताए।
'बुवाले छोरो ठूलै आर्टिस्ट बन्ला भन्ने चाहना राख्नुभएको थियो। उहाँले सोचेजस्तो आर्टिस्ट त बन्न सकिएन। नक्कली घर बनाउने आर्टिस्ट बन्न पाउँदा पनि सन्तुष्ट छु,' उनले भने।