बुधबारदेखि सुर्खेतमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव–२०२३’ हुने भएको छ।
ईयुको नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालले बुधबारदेखि शुक्रबार सम्म सुर्खेतमा चलचित्र महोत्सव आयोजना गर्न लागेको हो।
‘सबैका लागि मानवअधिकार उत्सव’ नारासहित महोत्सवको १२ औं संस्करण सञ्चालन गर्न लागिएको हो।
नेपाल युरोपियत युनियन चलचित्र महोत्सवको पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा चलचित्र प्रदर्शन गरिएको थियो।
वैशाख १५ देखि १७ गतेसम्म महेन्द्रनगरमा भएको महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालय सहआयोजक रहेको थियो।
मध्यपश्चिम विश्वविद्यालयको सहआयोजनामा सुर्खेतमा दोस्रो चरणको चलचित्र प्रदर्शन गर्न लागिएको हो। वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ।
‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको र आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने, सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने अहिलेको महोत्सवको उद्देश्य हो,’ नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले भनिन्।
उनका अनुसार महोत्सव अवधिमा युरोपेली र नेपाली निर्देशकहरूद्वारा बनाइएका आठ-आठ वटा चलचित्र प्रदर्शन गरिने छ।
महोत्सवको सुरूआत हमी रमेजनले निर्देशन गरेको ‘एनी डे नाउ’ चलचित्रको प्रदर्शनीबाट हुनेछ।
साथै महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा चलचित्रको भूमिका’ विषयमा छलफल, चलचित्र सम्बन्धी मास्टर क्लास पनि हुनेछन्।
विगत ११ वर्षदेखि द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालले चलचित्र महोत्सव गर्दै आएको छ।
यो वर्षको अन्तिम चरणको चलचित्र प्रदर्शनी काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ गतेसम्म हुने छ आयोजकले जनाएको छ। महोत्सवमा प्रर्दशन हुने चलचित्र निशुल्क हेर्न मिल्नेछ।