मई १ अर्थात विश्व मजदुर दिवस। वैशाख १८ गते सोमबार काठमाडौंका सडकमा मजदुरहरू र्यालीमा व्यस्त थिए। उनीहरू अधिकार माग गर्दै नारा घन्काइरहेका थिए। त्यहिबेला थापागाउँको मण्डला नाटक घरमा भने एक जना भुइँमान्छे कविता मार्फत मजदुरका पक्षमा आवाज उठाइरहेका थिए।
उनले कवितामा श्रमजीविका कुरा गरे। मजदुरले भोग्नुपरेका दुःखका कथा सुनाए। आकाश मान्छेहरूको नालायकिपनका कारण मुलुक नबनेका यथार्थ चित्रण गरे। मुटुभित्रको नेपाल प्रेम कवितामा छर्लङ्ग सुनाए। उनका व्यंग्य चेतसहितका कविता र वाचनशैलीबाट सबैजना प्रभावित बने।
उनलाई काठमाडौंमा ल्याउने काम पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ ले गरेको हो। यसले उनको पहिलो कविता कृति प्रकाशन, लोकापर्ण, सम्मान र एकल वाचनको चाँजो मिलाएको हो।
उसले ‘काठमाडौंमा भुइँमान्छेका कविता’ शीर्षक कार्यक्रममा मजदुर कविलाई निम्त्याएको हो। आफ्नो पहिलो कृति निकाल्ने सपना पुरा भएकाले ‘प्रतीक’ दिनभर मुस्कुराइरहेका थिए। आफ्नो सम्मानमा भव्य कार्यक्रम हुँदा अनुहार खुसीले धपक्कै बलेको थियो।
‘भुइँमान्छेका कविता’ लोकार्पण
शोषित, पीडितका पक्षमा कथा, कविता, गीत र गजल लेख्दै आएका ‘प्रतीक’को पहिलो कृति हो–‘भुइँमान्छेका कविता।’
कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार माया ठकुरी, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कृतिकार ‘प्रतीक’ र प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले संयुक्त रुपमा कृति लोकापर्ण गरेका हुन्। यस पुस्तकको सम्पादन युवाकविद्वय सुरज उपाध्याय र संजीब पौडेलले गरेका हुन्।
कविताकृतिको टिप्पणी गर्दै कवि अभय श्रेष्ठले भने, ‘हामीसँग दुई आँखा छन् जसले हामी भौतिक संसारलाई नियाल्छौँ। कवि हुन ती दुई आँखाभन्दा पनि हृदयका आँखा खुल्नु जरुरी छ। हृदयका आँखा बन्द भए हाम्रा भौतिक आँखा अपूर्ण हुन्छन्। ‘प्रतीक’का कविता हृदयका आँखा खोलेर लेखिएका अन्तर्दृष्टियुक्त अभिव्यक्ति हुन्।’
बुक्स हिमालयले प्रकाशन गरेको यस पुस्तकमा ३३ वटा कविता छन् भने यसको मूल्य २५० रुपैयाँ राखिएको छ। यसको शतप्रतिशत लेखकस्व कवि ‘प्रतीक’ले पाउनेछन्।
कार्यक्रममा शाक्यले शतप्रतिशत लेखकस्व स्रष्टालाई नै दिने गरि वर्सेनी एउटा किताब प्रकाशन गर्दै जाने घोषणा गरे। यस सिलसिलामा भुइँमान्छेको कविता पहिलो कृति हो।
५१ हजार रुपैयाँसहित सम्मान
जातीय पहिचान झल्कने मगर पोसाकमा सजिएका कवि इन्द्र राना ‘प्रतीक’ को अनुहार चम्केको थियो। त्यही बेला कार्यक्रम संयोजक अमृत भादगाउँलेले उनलाई सम्मान ग्रहणका लागि अनुरोध गरे। प्रमुख अतिथि साहित्यकार माया ठकुरीले उनलाई ५१ हजार नगदसहित ताम्रपत्र हस्तान्तरण गरिन्।
विगत तीन दशकदेखि कविता, कथा र गजल लेखनमार्फत नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको भादगाउँलेले बताए। यसरी भुइँमान्छेको सम्मान हुँदा कविको मात्र होइन, अन्य साहित्यअनुरागीका आँखा पनि खुसीले रसाएका थिए।
एकल कविता वाचन
कवि इन्द्र राना ‘प्रतीक’को सम्मान पछि एकल कविता वाचन सुरु भयो। खचाखच दशर्क माझ हौसिएका ‘प्रतीक’ले ‘इक्कु इक्कु भन्छन् मलाई’ कविताबाट वाचन सुरु गरेर कालै हुन्छन् छायाँहरू, मलाई बुझ्न मन लाग्यो, काल आएसि, बाँदरहरू, तिमी फूल हौ, अहिंसा प्रेमको जरा हुनुपथ्र्यो, सिकारी जुकाहरू, इन्जिनियहरू र इन्द्रेणी पोखिएको धर्तिको गीत सुनाए।
उनका शक्तिशाली कविता सुनेर दर्शकहरू मोहित बनेका थिए। हरेक कविता रचनाको सन्दर्भसहित उनले मिठो शैलीमा बाचन गरे। दर्शकले पर्रर ताली बजाइरहे।
यो नै प्रतीकको पहिलो एकल कविता वाचन कार्यक्रम हो। कार्यक्रममा पर्यटन, कला, साहित्य, शिक्षा र संस्कृति क्षेत्रका स्थापित तथा नयाँ प्रतिभाहरूको उल्लेख्य उपश्थिति थियो।
पहिलो पटक काठमाडौं
जीवनमै पहिलो पटक ६० वर्षको उमेरमा कवि इन्द्र राना ‘प्रतीक’ काठमाडौं आएका हुन्। कन्सेप्ट नेपालको व्यवस्थापनमा गत आइतबार उनी छोरा श्लेष र छोरी अनुरुपासहित आएका हुन्। उनीहरूको हवाई उडान पनि पहिलो हो।
काठमाडौं उत्रे लगत्तै ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रमका संयोजक अमृत भादगाउँलेले उनीहरूलाई काठमाडौंका विभिन्न सम्पदामा घुमाएका थिए। उनीहरूलाई पशुपतिनाथ, बौद्धनाथ, काठमाडौं दरबार क्षेत्र, ठमेललगायत ठाउँमा घुमाइएको थियो।
मजदूर कवि ‘प्रतीक’ छोराछोरीसहित मंगलबार बिहान हवाई उडानबाटै कर्मथलो पोखरा फर्किसकेका छन्।
मजदुर जिन्दगी
दिनभरि मजदुरी गरेपछि साँझ डेरामा बसेर साहित्य सृजना गर्दै आएका इन्द्र राना ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्छन्। विगतमा उनले कहिले सेती नदी किनारका बालुवा चाल्ने काम गरे भने कहिले घर बनाउने र रंगरोगन गरे।
पुख्र्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको आफ्नो घर छैन। जग्गा पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्। प्रकाशनका लागि उनका थुप्रै पाण्डुलिपि तयार छन्।
पिता कमाउन भनेर भारतको मेघालयमा गएका बेला उतै बिहे गरे। त्यहीं इन्द्रको जन्म भएको थियो। उनी उतै हुर्के, बढे। बाइस वर्षको उमेरमा बल्ल नेपाल फर्के। मेघालयमा हुँदैदेखि उनी मजदुरी सुरु भएको थियो। आज ६० वर्षको उमेरमा समेत उनी उत्तिकै संघर्षशील छन्।
उनले वि.सं. २०३८ सालदेखि नै कविता लेख्दै आएका हुन्। तर, आर्थिक अभावले पुस्तक निकाल्ने उनको रहर पुरा हुन सकेको थिएन। कन्सेप्ट नेपालले त्यो रहर पुरा गर्न संयोजनकारी भूमिका खेलेको हो।
हेर्नुहोस् कार्यक्रमका केही तस्बिरहरू