अमेरिकामा आयोजना हुन लागेको ११ औं नेफ्टा फिल्म अवार्डको मिति सरेको छ।
यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड साउन ६ गते (जुलाइ २२) मा हुने भएको छ। चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह सारिएको हो।
आगामी वैशाख ३१ मा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। जुरीले गरेका मूल्यांकनको आधारमा उत्कृष्ट पाँच घोषणा हुने अध्यक्ष लामाले बताए। उत्कृष्ट पाँचमा अटाउने सबै फिल्मकर्मीले अमेरिकामा हुने अवार्डमा सहभागिता जनाउनेछन्।
आयोजक संस्था फेम नेपालका अध्यक्ष विमल पछाइले नेफ्टा अवार्डमार्फत आफूहरूले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताए।
अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन्। अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन्।