देव धिमालको लेखन तथा निर्देशनमा बन्ने फिल्म 'सानीमाया' को शुभमुहूर्त गरिएको छ।
फिल्मको शुभमुहूर्त चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले गरेका हुन्। कार्यक्रम बोल्दै राईले भने, ‘फिल्म बनाउनु ठुलो कुरा होइन तर राम्रो फिल्म बनाउनु चुनौतीपूर्ण काम हो। फिल्म सानीमायाले चलचित्र क्षेत्रमा एक इट्टा थप्छ भन्ने आशा छ।’
‘फिल्ममा धेरै कलाकारहरू नयाँ छन्। नयाँ कलाकारले पनि राम्रो काम गर्न सक्छन् भन्ने सानीमायाबाट प्रमाणित हुनेछ,’ निर्देशक धिमालले भने, ‘नयाँ बाटै पुरानो हुने हो, यसकारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरूको संयोजनले फिल्म सफल हुनेछ।’
राज चौधरी निर्माता रहेको फिल्ममा रामचन्द्र अधिकारी, शारदा गिरी, सावित्रा चिलवाल, राजकुमार शाह, अर्जुन थापा, स्वेच्छा ढकाल, अभिषेक फुयाल, कृष्णप्रसाद धिताल, प्रियंका श्रेष्ठलगायत कलाकारको अभिनय रहने छ। जेठको दोस्रो साताबाट फिल्म छायांकनमा जाने बताइएको छ।
फिल्म ८८४८ इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति तथा धिमाल फिल्म्सको निर्माणमा बन्न लागेको हो।