विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म 'डाकिनी' नेपाली हलमा प्रदर्शन हुने भएको छ।
यो फिल्म जेठ ५ गतेदेखि हलमा प्रदर्शन हुन लागेको हो। षट्कोण आर्टस् ब्यानरबाट निर्मित फिल्मको अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ दिइएको छ।
यो फिल्म सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज हुने बताइएको छ। खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले निर्देशन गरेको फिल्मका निर्माता रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्री हुन्। निर्देशक रिम्पोछे बौद्ध धर्मका ठूला गुरू समेत हुन्।
फिल्म रिलिज गर्न अमेरिकाबाट नेपाल आउन लागेका रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास पनि दिनेछन्।
बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन्। यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो जसले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँछ।
फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन्। भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन्। फिल्ममा कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँलगायत कलाकारको समेत अभिनय छ।