आज शुक्रबार नेपाली फिल्म हलमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'हल्कारा', बलिउड फिल्म 'छत्रपति' र हलिउड फिल्म 'एस्टेरिक्स एण्ड ओबेलिक्सः द मिडिल किङडम' प्रदर्शन भएका हुन्।
विक्रम सापकोटाको लेखन र निर्देशन रहेको 'हल्कारा' मा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ। फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापामगर मियाको भूमिकामा छिन्।
‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
यसैगरी फिल्म नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।
कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।
फिल्ममा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट देखाइएको छ। फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्।
बलिउड फिल्म ‘छत्रपति’ मा बेल्ममकोन्डा साई श्रीनिवास, नुश्रत भरूच्वा र शरद नुसरत केलकरको मुख्य भूमिका छ। फिल्मलाई भिभी विनायकले निर्देशन गरेका हुन्।
यो फिल्म सन् २००५ मा रिलिज भएको दक्षिण भारतीय फिल्म ‘छत्रपति’ को हिन्दी रिमेक हो। एसएस राजामौली निर्देशित फिल्ममा प्रभास र शृया सरन मुख्य भूमिकामा थिए।
हलिउड फिल्म ‘एस्टेरिक्स एण्ड ओबेलिक्सः द मिडिल किङडम’ मा गुइलाउम क्यानेट, गिल्स लेलोचे, भिन्सेन्ट क्यासल, ज्लाटन इब्राहिमोभिकको अभिनय छ। यो फिल्मलाई गुइलाउम क्यानेटले निर्देशन गरेका हुन्।
हल्काराको ट्रेलरः
छत्रपतिको ट्रेलरः
एस्टेरिक्स एण्ड ओबेलिक्सः द मिडिल किङडमको ट्रेलरः