चलचित्र विकास बोर्डले पहिलाे राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
मंगलबार बसेको बोर्डको बैठकले दाङमा असार १, २ र ३ गते महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।
महोत्सवको संयोजकमा प्रवक्ता केएल बुढाथोकीलाई तोकिएको छ। उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामो तथा छोटो शिक्षामुलक फिल्महरूको प्रदर्शनी हुनेछ। साथै, फिल्मज्ञान सम्बन्धि हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा फिलम नृत्य प्रतियोगिता समेत हुनेछ।
महोत्सवको क्रममा ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुनेछ।
बालबालिकाहरू माझ फिलमको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकाहरूलाई फिल्मको अभ्यास गराउने, बाल फिल्म क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल चलचित्र महोत्सवहरूमा नेपालका बालबालिकाहरू तथा उनीहरूले बनाएका चलचित्र सहभागी गराउन सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।