फिल्म 'हल्कारा' टिमको आयोजनामा सम्पन्न चिठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन वितेजा घोषणा गरिएको छ। याे फिल्म वैशाख २९ गतेदेखि प्रदर्शन भएको हो।
प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका तीनजना विजेता छानिएका हुन्। जसमा प्रथम पुरस्कार कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार काठमाडौंकी बबिता थापा र तृतीय पुरस्कार मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन्।
निर्माण टिमले विजेताहरूलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएका छन्। प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार तोकिएको छ।
यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भइसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैं सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो।
यो प्रतियोगिताका विजेता वैशाख २७ गते घोषणा हुने भनिए पनि केही प्राविधिक कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो।
विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी, बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।
'हल्कारा' अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
यसैगरी फिल्म नेपाल-अमेरिका फिल्म फेस्टिभलमा 'लङ न्यारेटिभ' विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।