नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गरिएको छ।
नेपालका सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिक निर्देशित फिल्म ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाह निर्देशित लघु फिल्म ‘लोरी’ र दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ लगायतका फिल्महरू महोत्सवमा प्रदर्शन हुने जनाइएको छ।
जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा फिल्म र एनिमेसन गरी ३७ फिल्महरू प्रदर्शन हुनेछन्।
वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने र फिल्महरू एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ।
आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको, बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ को प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ। त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेन्डसेनको निर्देशनमा बनेको ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ।
ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई चलचित्र प्रदर्शन हुने र निर्देशक सुबर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन हुने समेत आयोजकले जनाएको छ।
‘कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शनहरू भौतिक रूपमा नै आयोजना गर्न लागिएकोले उत्साहित भएका छौं,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकार भने।
महोत्सवका लागि आवेदन परेका फिल्महरूलाई फिल्म सोसाइटीको फिल्म छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको हो। म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ।