१५ जना शेर्पा कलाकारले हिमालको चुचुरोमा श्यब्रु नृत्य गर्दै विश्व कीर्तिमान राखेका छन्।
उनीहरूले ६ हजार ४७० मिटर उचाइको मेरा पिक हिमालमा नृत्य गरेर विश्व कीर्तिमान राखेका हुन्। लण्डनमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डसले कीर्तिमान रच्ने कलाकारलाई सोमबार प्रमाणपत्र प्रदान गरेको छ।
'जमिनको उच्चतम् उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन' नाम दिँदै उक्त संस्थाले रेकर्डको मान्यता दिएको हो। आधुनिक शैलीमा भाषा धर्म र संस्कृतको जगेर्ना भन्ने उद्देश्यले स्थापना भएको शेर्पा इभेन्ट्स संस्थाले कार्यक्रम आयोजना गरेको थियो।
सोलुखुम्बु जिल्लाको महाकुलुङस्थित हिमालमा कार्तिक २३ गते उनीहरूले ५ हजार ८०० मिटरमा 'हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफर्मेन्स अन ल्याण्ड' म्युजिक भिडिओ छायांकन गरेका थिए। काठमाडौंमा एक कार्यक्रम गर्दै उक्त म्युजिक भिडिओ सार्वजनिक गरिएको छ।
वर्ल्ड बुक अफ रेकर्डस लण्डनबाट प्रमाणपत्र प्राप्त गर्ने कीर्तिमानी कलाकारमा नुरु शेर्पा, युगेन शेर्पा, कुन्साङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा, दिकु शेर्पा, छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा तथा छेतेन शेर्पा छन्।
छेतेन शेर्पा मेरापिक आरोहण गरि फर्कने क्रममा मौसम खराबीका कारण बेपत्ता भएका थिए।