सेलिब्रेटी नेपालको आयोजनामा 'नेपाल ग्रामीण चलचित्र महोत्सव' को दोस्रो संस्करण हुने भएको छ।
सोमबार काभ्रेको बनेपामा एक कार्यक्रम आयोजना गर्दै काभ्रेपलान्चोकको भकुन्डेबेसीमा जेठ २५ देखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी दिइएको हो। महोत्सवमा २६ वटा फिल्महरू सहभागी हुने सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए।
नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरू मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा फिल्म दर्ता खुल्ला गरिएको थियो।
महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरू स्क्रिनिङ हुनेछन्। महोत्सवमा स्क्रिनिङ हुने फिल्महरूमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिनेछ।
'दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवम् पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो। अघिल्लो पटकको भन्दा यो संस्करण थप वृहत् र व्यवस्थित हुनेछ,' सापकोटाले भने।
चलचित्र विकास बोर्डले सहकार्य गरेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ। यस महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा भएको थियो।