सनमकुमार बैरागको निर्देशनमा फिल्म 'सिद्धार्थ' बन्ने भएको छ।
यो फिल्मको अधिकांश छायांकन बेलायतमा हुने बताइएको छ। यो फिल्मको निर्माण घोषणा पनि बेलायतबाट गरिएको हो।
फिल्म निर्माण घोषणाका लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए। फिल्ममा श्रीदेव र शारदासँगै दिनेश केसी, दिल घले, नविन थापाको लगानी रहनेछ।
भिजन संसार र स्रित फिल्म एन्ड इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठको अभिनय रहनेछ। अन्य कलाकारको छनोट बाँकी रहेको निर्माता बिएलले बताए।
घोषणा कार्यक्रममा उमेशराज मोक्तान, कपिल रिजाल, निकेश लिम्बु, भगवान दाश चौहान, रूपक श्रेष्ठलगायतको उपस्थिति थियो।
बैरागले यसअघि फिल्म 'कैदीको पत्र' निर्देशन गरेका थिए।