सुरज पाण्डे निर्देशित फिल्म 'परस्त्री' को हिन्दी गीत सार्वजनिक भएको छ।
आइतबार बिफोरयु म्युजिक युट्युब च्यानलमार्फत फिल्ममा समावेशी 'होना था जो होने लगा' बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो। अमित मिश्र र सोनल प्रधानको स्वर रहेको गीतमा अभिनेत्री शिल्पा मास्के र गौरव विष्टलाई देख्न सकिन्छ।
विनित त्रिपाठीको शब्द रहेको गीतमा केके ब्रोदर्सले संगीत भरेका छन्। गीतलाई वाइल्ड रिपर्जले कोरियोग्राफी गरेका हुन्।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। निरज कँडेलले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।
फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ।
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल फिल्मका लेखकसमेत हुन्।
यो फिल्म नेपालीसँगै हिन्दीमा असार १५ गतेदेखि प्रदर्शन हुनेछ।