सुर्खेतको विरेन्द्रनगरमा पहिलो 'कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०' को आयोजना हुने भएको छ।
कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते महोत्सव हुने बताए। साथै उनले प्रदेशलाई चिनाउने र छायांकनको गन्तव्य बनाउने महोत्सवको उद्देश्य रहेको बताए।
सोमबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्राली र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरिएको थियो।
कार्यक्रममा उपस्थित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा छायांकनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने बताए।
कार्यक्रममा पूर्वराज्यमन्त्री कुन्ती कुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हाँस्यकलाकार हिमेश पन्त, मध्येपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टार महेन्द्रबहादुर मल्ल, निर्देशक रामशरण पाठक, निर्माता रज्जु प्रधानलगायतको उपस्थिति थियो।