आज शुक्रबारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने 'नेपाल ग्रामीण चलचित्र महोत्सव' दोस्रो संस्करणका लागि १७ वटा फिल्म छनोट भएका छन्।
३ दर्जन बढी फिल्ममध्ये १७ वटा फिल्म छनोट गरिएको आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। महोत्सवका लागि ग्रामीण परिवेशमा बनेका फिल्महरू छनोट गरिएको हो।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै जुरी टिमको बारेमा जानकारी दिइएको छ। जुरी टिममा नेपाल चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी छन्।
महोत्सवमा ‘झिंगेदाउ, प्रकाश, डेसान, ल्हुई, निरमाया, चरित्र, आफ्नै कर्म, मेरी हजुरआमा, साईत, सेती दिदी, कहानी एकादेशको, परिवर्तन, दुर्गामाण्डु, हुक्का’ जस्ता फिल्म प्रदर्शन गरिनेछ। यस्तै साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लुङा’ को प्रिमियर हुनेछ।
उत्कृष्ट फिल्मलाई अवार्डसहित पुरस्कार वितरण गर्दै शनिबार बेलुका महोत्सव समापन गरिनेछ। चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्मकर्मीहरू सहभागी हुनेछन्। महोत्सवको पहिलो संस्करण गत वर्ष वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो।