राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले लोक संगीतमा योगदान पुर्याएका ९ जनालाई सम्मानार्थ सदस्यता प्रदान गर्ने भएको छ।
कास्कीको मादी गाउँपालिकास्थित ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको हो।
लोक गायक बमबहादुर कार्की, नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको सम्मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष रीता थापा मगरले जानकारी दिइन्।
संगीतकार नारायण रायमाझीको 'सांगीतिक साँझ' समेत आयोजना गर्ने प्रतिष्ठानको घुम्ती बैठकले निर्णय गरेको छ। प्रतिष्ठानका सल्लाहकार रहेका रायमाझीको सांगीतिक साँझ आगामी भदौंमा हुनेछ।
योसँगै प्रतिष्ठानले हरेक वर्ष एक जना गायकको सांगीतिक साँझ आयोजना गर्ने बताएको छ।
प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पदाधिकारी, संस्थागत एवं पूर्व अध्यक्ष तथा सल्लाहकार गरी १ सय जना कलाकार ताङतिङ पुगेका थिए। देशको स्थानीय कला संस्कृतिको सम्बर्द्धन गर्दै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ताङतिङले घुम्ती बैठक आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।