गायक स्वप्न सुमन दिनेश राउतको निर्देशनमा बन्ने फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्।
वैशाखदेखि छायांकन सुरू हुने भनिएको फिल्म जेठको अन्तिमसम्म पनि छायांकनमा जान सकेको छैन। यसैबीच फिल्म नबन्ने चर्चा चलेको छ। तर निर्देशक राउतले फिल्म सरेको बताए।
'हामीले फिल्मको सम्पूर्ण तयारी गरिसकेका छौं। फिल्म नबन्ने भन्ने हुँदैन। सिन्दूर जात्रामा फिल्म छायांकन गर्नुपर्ने हुँदा सरेको हो। सिन्दूर जात्रा जस्तो ठूलो पर्वलाई हामी आफैले निर्माण गर्न सक्दैनौं। त्यसैले यो पर्व जहिले हुन्छ त्यही बेला छायांकन गर्ने भनेर कुरेका हौं,' उनले भने।
आगामी चैतमा छायांकनमा जाने फिल्म सहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा बन्नेछ। फिल्मका लागि गायक सुमनले ३ महिना अभिनय तालिम लिएका थिए।
फिल्ममा स्वप्न सुमनसँगै दीक्षिता कार्कीको अभिनय रहनेछ। फिल्मको पटकथा विकास सुवेदीले तयार पारेका हुन्।
स्वप्न सुमन नेपाली सांगीतिक क्षेत्रमा रूचाइएका गायक हुन्।
२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत 'के साह्रो राम्री भको' सार्वजनिक भएको थियो।
उनको 'द कफी सङ, के साह्रो राम्री भाको, ए हेल्लो, कसरी भनुँ, म तिम्रो, वाचा भयो, जे छौ तिमी' लगायतका गीत चर्चित छन्।
त्यस्तै गायिका दीक्षिता कार्कीको 'तिमी र म' बोलको गीत चर्चित छ।