अभिनेत्री वर्षा सिवाकोटी र मुकुन भुषाल अभिनीत फिल्म 'गणपति' को छायांकन सेटमा आगलागी भएको छ।
बालाजुस्थित चलचित्र विकास संस्थानमा छायांकन गर्ने क्रममा आगलागी भएको अभिनेत्री वर्षा सिवाकोटीले जानकारी दिइन्।
'गणपतिको प्रमोशनल गीतको छायांकन भइरहेको थियो। गीतको सेट नै आगो बाल्ने खालको थियो। सेटको माथि थुप्रै बोरा थिए। एक बोरामा आगो सल्किएपछि आगो फैलिएको हो। आगलागीमा मानवीय क्षति नभए पनि सेट जलेर नष्ट भएको छ,' उनले भनिन्।
अभिनेत्री वर्षासँगै मुकुन भुषाल र कोरसहरू नृत्य गरिरहेका थिए। उक्त गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका थिए। करिब ५ बजे आगलागी भएको हो।
सबिन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन र वर्षासँगै मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरूङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ।
यो फिल्म भदाै १४ गतेदेखि प्रदर्शन हुँदैछ।