काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म 'आदिपुरुष' मा समावेश 'जानकी भारतीय छोरी हुन्' भन्ने संवाद हटाउन आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका छन्।
फिल्ममा उक्त संवाद यथावत् प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने पत्रमा उल्लेख छ।
'नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको छ। उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतीमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ,' पत्रमा लेखिएको छ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको फिल्मको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताउँदै उनले भारतसंग कुटनीतिक पहल गर्दै विवादित अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
बिहीबार उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै 'जानकी भारतीय छोरी हुन्' भन्ने संवाद भारतबाट पनि नहटेसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बताएका थिए। उनले उक्त संवाद हटाउन तीन दिनको समय दिएका छन्।