नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा 'क्रियटर्स मेला' सम्पन्न भएको छ।
ठमेलस्थित अलफ्ट होटलमा शुक्रबारदेखि आयोजना गरिएको मेला शनिबार सम्पन्न भएको हो।
मेलामा १७ लेक्चरर अन्तरक्रियात्मक सत्रहरूका साथै विक्रेताका प्रदर्शनीहरू समावेश गरिएको थियो। यस मेलाले सर्जक बन्न चाहनेहरूका लागि पडकास्ट, एनिमेसन र भ्लगहरूलगायतका आकर्षक श्रव्यदृश्य सामग्री कसरी तयार पार्ने र आफ्नै अनलाइन ब्रान्ड कसरी सिर्जना गर्ने भन्ने कुरा सिक्नका लागि एउटा मञ्च प्रदान गर्ने दुतावासले जनाएको छ।
‘इम्पावर, इनोभेट, इन्सपायर’ नाराका साथ नेपालका केही सर्वाधिक प्रवर्तनशील डिजिटल मिडिया उत्पादकहरू, सामाजिक सञ्जाल प्रभावकर्ताहरूका लागि यो दुई दिने मेला आयोजना गरिएको हो।
अमेरिकी दूतावासका पब्लिक अफेयर्स अफिसर ग्यारेट पिलरसनले नेपालीहरू डिजिटल माध्यममा संलग्न हुन चाहेको बताए।
'सिर्जनशीलता ऐतिहासिक रूपमै नेपालमा अन्तर्निहित छ र के कुरा स्पष्ट छ भने नेपाली युवाहरू प्रविधि तथा डिजिटल स्पेसमा संलग्न हुन चाहन्छन् किनभने त्यहाँ धेरै अवसर छन्। डिजिटल सर्जक तथा प्रभावकर्ताहरूले आफ्नो अनलाइन उपस्थिति, व्यवसाय र पेसाकर्म सुरू गर्न र वृद्धि गर्नका लागि आफ्नो सिपलाई तिखा सकून् भन्ने हिसाबले यस प्रकारकै यो पहिलो कार्यक्रम राखिएको हो,' उनले भने।
यो अमेरिकी दूतावासको पहिलो कार्यक्रम हो। आगामी दिनमा यस्ता कार्यक्रम गर्न सकारात्मक रहेको ग्यारेट पिलरसनले बताए।
शुक्रबार सञ्जय सिलवाल गुप्ता, श्री गुरुङ, आँचल कुवर, कुन्दन बस्नेत, विविधजंग थापा, स्वतिना शाक्य, मानस वाग्ल र आरती शिल्पकारले आफ्नो अनुभव र ब्रान्डबारे बताएका थिए। शनिबार अनिल केशरी शाह, क्रिस्टिन काओले, अम्बिका अधिकारी, शिल्पा मास्के, अलिशा राई, प्रेस्का उदास र रेशमा घिमिरेले आफ्नो अनुभव सुनाएका थिए।