अभिनेता नाजिर हुसेनको फिल्म 'गुलाबी' को नाम परिवर्तन गरिएको छ।
निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम 'गुन्युचोलोः कमिङ अफ एज अ गर्ल' राखिएको जानकारी दिएका छन्।
महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार फिल्ममा अभिनेता नाजिर हुसेन पारलैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा देखिएका छन्।
फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको अभिनय छ। फिल्मको पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनले तयार पारेका हुन्।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर निर्माण भएको फिल्ममा अमेरिकी कम्पनी भिजिअन इन्टरटेनमेन्टको सहकार्य छ। सहमति अनुसार फिल्मको पोस्टप्रोडक्सनका साथै अन्तर्राष्ट्रिय प्रदर्शनको जिम्मा लिनेछ। हाल यस फिल्मको हलिउडमा पोस्ट-प्रोडक्सनको काम भइरहेको छ।
फिल्मको प्रदर्शन मिति अहिलेसम्म टुंगो लागेको छैन।
भद्र भुजेल एसोसिएट निर्देशक रहने फिल्ममा पुष्कर लामाको निर्माण नियन्त्रण रहनेछ भने निर्माण व्यवस्थापकमा यम ओली छन्। फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन्।
क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले ‘आधा पेज’ नामक फिल्म निर्देशन गरिसकेकी छन्।