नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरू भएको छ।
बिहीबार वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली फिल्म 'ऐना झ्यालको पुतली' प्रदर्शनसँगै महोत्सव सुरू गरिएको हो।
महोत्सवमा अभिनेता राजेश हमाल विशेष अतिथिको रूपमा उपस्थित भएका थिए। उनले चलचित्र महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरालाई भेट्न पाउँदा खुशी व्यक्त गरे।
'फिल्म फेस्टिभल नेपाली समुदायलाई जोड्ने माध्यम हो। नेपाली डायस्पोरालाई अनुरोध गर्छु, यसलाई सहयोग गर्नुस्, यसलाई हातेमालो गर्नुस्। किनभने फिल्मले तपाईको भावना र मतिष्कमा कहिँकही सम्बोधन गर्छ। तपाईको दैनिकी वा जीवनलाई कुनै न कुनै हिसाबबाट सम्बोधन गर्छ, उत्प्रेरणा दिन्छ। त्यसैले यस्तो कलालाई नेपाली डायस्पोराले साथ र सहयोग गर्नुपर्छ,' उनले भने।
जुन २२ देखि २५ सम्म चल्ने चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ फिल्म प्रदर्शन हुँदैछ। महोत्सव छनोट भएका चलचित्र ओल्ड ग्रिनवेल्ट थिएटरमा पनि प्रदर्शन हुने जनाइएको छ।
महोत्सवमा निर्देशक सुबर्ण थापाको उपस्थितिमा 'द सेक्रेट अफ राधा' को विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्महरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। त्यस्तै महोत्सवको क्रमममा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे 'प्यानल' छलफल हुनेछ।
महोत्सवका निर्देशक युवाकार राजकर्णिरका अनुसार अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ।