नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उत्कृष्ट फिचरको अवार्ड सुवर्ण थापा निर्देशित फिल्म 'द सेक्रेटस् अफ राधा' ले पाएको छ।
सुजित बिडारीले निर्देशन गरेको फिल्म 'ऐना झ्यालको पुतली' र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको 'जोयलेण्ड' ले मानार्थ पुरस्कार प्राप्त गरेको छ।
यसैगरी उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको 'द मिराज' ले प्राप्त गरेको छ भने सूर्य शाही निर्देशत 'ह्वील्स अन द बस' ले मानार्थ पुरस्कार प्राप्त गरेको छ।
यसैगरी महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियु निर्देशत 'पियोना म्यान' र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनको फिल्म 'पासाङः द स्याडो अफ एभरेष्ट' प्राप्त गरेका छन् भने सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र 'इन्टू द मिस्ट' ले मानार्थ पुरस्कार प्राप्त गरेको छ। वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष कुँवर निर्देशित 'मेरो बुबा' ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको 'डु डक्स माइग्रेन' ले मानार्थ पुरस्कार पाएको छ।
महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको फिल्म 'कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन' ले प्राप्त गरेको छ भने 'ह्वेर द विण्डो डाइ' ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गरेको छ। महोत्सवका निर्णायक अमेरिकाका निना स्ट्राइक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ वटा फिल्म मध्येबाट ती फिल्म पुरस्कारका लागि छनोट गरेका थिए।
महोत्सवको छैठौं संस्करण सफलतापूर्वक सम्पन्न भएको बताउँदै नेपाल-अमेरिका फिल्म समाजका अध्यक्ष पूर्ण सिंह बराइलीले भने, 'फिल्मले नेपाली समाज, सभ्यता र संस्कृतिलाई संसारभरिनै पुर्याउन सहयोग गरिरहेको छ भने सांस्कृतिक विविधता र समावेशीताको प्रबर्द्धनका लागि यो महोत्सवले सहयोग गरिरहेको छ।'
'ऐना झ्यालको पुतली' को प्रदर्शनबाट जुन २२ मा सुरू भएको महोत्सवमा अभिनेता राजेश हमाल, सहयोगी संस्था ग्लोबलपिस फिल्म फेस्टिभलका प्रतिनिधि, अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी, मेरिल्याण्ड गभर्नस् अफिस, मेरिल्याण्ड फिल्म अफिस, मेरिल्याण्ड पार्कस् एण्ड रिक्रियशनका फिल डेभिसलगायतको उस्थिति रहेको थियो।