निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' को छायांकन सकिएको छ।
सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको छायांकन सकिएको हो। ३६ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन्।
'जनता भर्सेस शक्ति' को विषयवस्तुमा आधारित फिल्म तिहारको अवसर पारेर कात्तिक २४ गते प्रदर्शन हुनेछ।
निर्देशक बस्नेतका अनुसार फिल्म सोसल ड्रामा जनरामा बन्नेछ। फिल्मको कथा आकाश बरालले तयार पारेका हुन्।
रौनकविक्रम कँडेलले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र विजय बरालको मुख्य भूमिका छ।
बस्नेतले 'लुट' बाट निर्देशनमा डेब्यू गरेका थिए। उनले डेब्यू निर्देशकीय फिल्मबाट निकै चर्चा कमाएका थिए। यस फिल्मलाई नेपाली फिल्म क्षेत्रकै टर्निङ प्वाइन्टको रूपमा हेरिएको थियो।
निश्चल बस्नेत 'लुट २' पछि निर्देशनमा फर्किन लागेका हुन्। 'लुट २' २०७४ सालमा प्रदर्शन भएको थियो।