पर्यटन प्रवर्द्धनको उद्देश्यले जनकपुरमा फोटो प्रदर्शनी भएको छ।
'अठोट नेपाल' ले मंगलबार बेलुकी गंगासागरको डिलमा देशको विभिन्न पर्यटकीय स्थलका ५० वटा फोटोको प्रदर्शन गरेको हो।
'कोभिडले पर्यटन क्षेत्र थला पार्यो। यसको पुनरूत्थानका लागि फोटोको माध्यमबाट हामीले प्रचारप्रसार गरिरहेका छौं,' अठोट नेपालका संयोजक देवेन्द्रबहादुर शाहीले भने।
उनका अनुसार प्रदर्शनीमा नेपालको कला, संस्कृति, प्राकृतिक र वाइल्डलाइफको विधामा प्रतिस्पर्धामा छानिएका उत्कृष्ट तस्बिरहरू राखिएको थियो।
अठोट नेपालले ओझेलमा परेका पर्यटकीय स्थल र पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत यसअघि हेटौंडामा फोटो प्रदर्शनी गरेको थियो।
अब इलाममा फोटो प्रदर्शनी गर्ने तयारी रहेको संयोजक शाहीले बताए।