सुरज पाण्डे डेब्यू निर्देशित फिल्म 'परस्त्री' नेपालमा बिहीबार नै प्रदर्शन हुने भएको छ।
कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड फिल्म 'सत्यप्रेमकी कथा' बिहीबार नै प्रदर्शन हुने भएपछि 'परस्त्री' ले शुक्रबार नकुर्ने फिल्मका निर्माता दिपेन्द्र के खनालले बताए।
'भोलि बिहीबार विदेशी फिल्म प्रदर्शन हुँदैछ। विदेशी फिल्म बिहीबार लाग्ने तर हामीले शुक्रबार कुर्दा शो बाँडफाडमा अप्ठारो हुन्छ भनेर भोलि नै प्रदर्शन गर्न लागेका हौं,' उनले भने।
यो फिल्म भारतमा शुक्रबार प्रदर्शन हुँदैछ। तर नेपालमा हिन्दी संस्करण प्रदर्शन नहुने बताइएको छ।
विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यालाई देखाइएको फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ।
यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल फिल्मका लेखकसमेत हुन्।
निरज कँडेलले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।