प्रिय पत्रकार!
म त सहरभन्दा सुदूर दुर्गम बस्तीको कवि हुँ
कोरेको छु, समाज र जीवनको प्राण भर्ने प्रेमिल भाकाहरू
संस्कार, संस्कृति र वेशभूषाहरू।
र, कोरेको छु भुइँ मान्छेहरूको आवाज, दीयो कुरी बसेका आखाँहरूको आशा
थवाङ रोल्पाका स्रष्टा टङ्कबहादुर झाँक्री मगरले प्रिय पत्रकार शीर्षकको कविताका हरेक वाक्यमा पत्रकारलाई लक्षित गरी सोधिएका वाक्यांशले बर्दघाट नगरपालिकाको सभाहलमा उपस्थित सबैको ध्यानाकर्षण गराइरहेको थियो। कवि झाँक्री मगरले अगाडि वाचन गरे।
कोरेको छु,
हुरीको आवेगले उजाडिएको झुप्रोभित्र,
मुस्कान पर्खिरहेका ओठहरूको माग।
र, कोरेको छु
समयको जोखना हेरेर
आकाशे खेती गर्न आउने
दुर्लभ प्राणीहरूको दोहोरो चरित्र।
प्रिय पत्रकार!
साँच्चै यस्तो कविता रंगीन सहरबाट प्रकाशन हुने, ठूलो अखबारमा छापिन्छ कि छापिँदैन?’
लुम्बिनी प्रदेशका १२ जिल्लाका साहित्यकारले भरिभराउ हलमा मगरको उक्त कविताले पत्रकारलाई प्रश्न गरेपछि कपिलवस्तुका शिरिष बञ्जाडेले समाजमा विभिन्न पोशाक लगाउनेको पेसाप्रति व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेको ‘नेता बनुँ झैं लाग्यो’ शीर्षकको कविताले तालीको गडगडाहट पायो।
सेतो कोट भिरेर आज तनको व्यापार फैलाउँछन,
कालो कोट भिरी समाजभरमा उद्दन्ड मच्चाउँछन
निलो कोट भिरेर दोहन गरे सम्पत्ति यो राष्ट्रको
जो–जो गर्छ यिनै कुरा छ उसैको सेखी असाध्यै ठूलो
हिँड्छन गणतन्त्र आज उनले च्यापेर काखीमुनि,
भन्छन्– उड नभ चुम स्वतन्त्र त भइस् काटी पखेटा लगी ।
कैयौँ तन्त्र उठे ढले विगतमा,
आट्यो र के ढल्न थाल्यो यो ?
यौटा तन्त्र बचाउने प्राण लिइ नेता बनुँ झैँ भयो ।
बञ्जाडे र झाँक्री मगरसहित २५ वटा कविता वाचन गरिएको उक्त कार्यक्रममा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सहभागी नचलमलाई बसिरहे। र, कविता सुनिरहेँ।
असारको मध्यमा निरन्तर परिरहेको झरीको पर्वाह नगरी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका साहित्यकारको भीडबाट बेलाबेला तालीको गडगडाहटको स्वर गुञ्जिरह्यो। दिनभर बर्दघाट नगरपालिकाको सभाहलमा कवि र कविता बारेमा छलफल पनि चल्यो। सोही अवसरमा पत्रकारसमेत रहेकादाङका स्रष्टा नविन अभिलाषीले
आफ्नै पसिनाको उर्वर भूगोलमा हामी अनन्त दुःखका असली उपभोक्ता मात्र बन्यौं,
आगो छुटेको प्रमिथस जस्तो, कालो कुवाभित्र कैद गरिएका दास जस्तो भयौं’
वाक्यांश सहित ‘पुनश्चः प्रायश्चित’ शीर्षकको कविताले धेरैलाई सोचमग्न बनायो।
लुम्बिनी प्रदेशमा रहेका एक सय नौ स्थानीय तहमध्ये भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने गरी नवलपरासीको बर्दघाट नगरपालिकाले प्राज्ञसभा गठन गरेको छ।
सोही बर्दघाट प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको प्रदेशस्तरीय कवि गोष्ठी तथा प्रतियोगिताका सहभागीले देश परिवेशका बारेमा कवितामार्फत् आफ्नो चासो र चिन्ता जाहेर गरेका हुन्।
‘प्रिय पत्रकार’ कविता प्रथम
बर्दघाट प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितात्मक कविगोष्ठीमा रोल्पाका टंकबहादुर झाँक्री मगरको ‘प्रिय पत्रकार’ शीर्षकको कविता पहिलो भएको छ कपिलवस्तुका शिशिर बन्जाडेको कविता ‘नेता बनूँ झैं लाग्यो’ दोस्रो भयो। साथै नेपाल टेलिभिजनमा कार्यरत पत्रकार नवीन अभिलाषीको ‘पुनःप्रायश्चित’ कविता तेस्रो र पद्यमावती रिजालको कविता चौथो भयो।
प्रदेशस्तरीय प्रतियोगितात्मक कविगोष्ठीमा पहिलोलाई २५ हजार रुपैयाँ, दोस्रोलाई २० हजार रुपैयाँ, तेस्रोलाई १५ हजार रुपैयाँ र चौथोलाई १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो।
प्रतियोगितात्मक कविगोष्ठीमा इमेलमार्फत् प्राप्त भएका ५१ रचनामध्ये छनोटमा परेका २७ कवितामध्ये २५ वटा गोष्ठीमा वाचन गरिएको थियो। प्रतियोगितामा नवलपरासीका श्यामप्रसाद न्यौपानेको संयोजकत्व र रूपन्देहीका कविराज पौडेल र दाङका टीकाराम उदासी मगर मूल्याङ्कनकर्ता थिए। रासस