अक्षरयात्राको द्विशतक श्रृंखला पर्वत कुश्मास्थित शताब्दी घरमा सम्पन्न भएको छ।
कालीगण्डकी बचाऔँ अभियान एवं कुश्मा कला परियोजनाका परिकल्पनाकार अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बिचमा प्रगाढ़ सम्बन्ध रहेको बताउँदै आफ्नी आमाको सम्झना गरे। तीन वर्षको हुँदा नै आमाको देहान्त भएको र कालीगण्डकी नदीमा दाहसंस्कार भएको उनले बताए। आमालाई सम्झिएर तेह्र वर्षको उमेरमा यो नदी हेर्न आएको कुरा बताउँदै सबैजना भावुक भएका थिए।
अभियन्ता आरके अदीप्त गिरी कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै सत्तिसालझैं उभिएको कुराको प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठूलो आँट र साहस भएको विचार उनले व्यक्त गरे। कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नुपर्ने विचार श्रेष्ठको थियो।
‘कला मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि हो। कलाको विकास भए मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ। देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृति जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो,’ उनले भने। कालीगण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर श्रेष्ठले काव्य वाचनसमेत गरेका थिए।
परिवर्तन र विकासको नाममा हामी हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिस्थित बिर्सिरहेका छौ। हामीले भुल्दै, बिर्सदै गएको आफ्नोपनको आभास जोगाउने प्रयत्न स्वरूप आफूले कुश्मामा कला परियोजनाको परिकल्पना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष आरके अदीप्त गिरीले बताए। यही संस्थाले फरक आवश्यकता महशुस गरी शताब्दी घरको परिकल्पना गरेको हो।
'हामी शताब्दी घरलाई पूर्णता दिन अथक प्रयत्न गरिरहेका छौँ। विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संबर्द्धन गरिनु अहिलेको प्रमुख आवश्यकता हो,' गिरीले भने।
कार्यक्रममा लोक गायिका हरिदेवी कोइरालाले तीनसय वर्ष भन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलोपटक भाग लिन पाएकोमा फरक अनुभूति भएको बताइन्। उनले कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाइन्।
कार्यक्रममा ८५ वर्षिय साहित्यकार शान्तिनारायण श्रेष्ठले उत्साहपूर्वक गीत र गजल सुनाए। प्राज्ञ सरस्वती श्रेष्ठ सरू, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गनेश पौडेल, सन्जीव पौडेलले आ-आफ्ना धारणासहित रचना वाचन गरेका थिए।
एन पि घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लक्ष्मण विश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, साबित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठी लगायतले पनि कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए।
'जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा' मूल मन्त्रसहित गजलसन्ध्या र नवनीत साहित्य सागरले 'अक्षरयात्रा' संचालन गर्दै आएका छन्। २०६२ साल असार १८ गतेदेखि संचालनमा आएको अक्षरयात्राले साहित्यसँग सम्बन्धित कार्यक्रम गर्दै आएको छ।