राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ८ जना गायक-गायिकालाई 'सम्मानार्थ सदस्यता' प्रदान गरेको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै प्रतिष्ठानले सम्मानसहित सदस्यता प्रदान गरेको हो। सदस्यता प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल छन्।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रजको सम्मान बुवाआमा र भगवानको सम्मान भएको बताइन्।
कार्यक्रममा लोक तथा दोहोरीगीत प्रतिष्ठानका थुप्रै सदस्यहरूको उपस्थिति रहेको थियो।
लोकस्रष्टालाई 'सम्मानार्थ सदस्यता' वितरण निर्णय प्रतिष्ठानले केही समयअघि कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले गरेको थियो।
सो बैठकमा प्रतिष्ठानले संगीतकार नारायण रायमाझीको 'सांगीतिक साँझ' समेत आयोजना गर्ने निर्णय गरेको थियो। रायमाझीको सांगीतिक साँझ आगामी भदौ महिनामा आयोजना हुनेछ।