गायक एवं कलाकार रोविन तामाङको पोष्टमर्टम सकिएको छ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार तामाङको पोष्टमर्टम गरिएको हो। मंगलबार साँझ ६ बजे काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ विष्णुमती चिस्यानीस्थित घरमा उनको निधन भएको थियो।
उनको मुटुमा समस्या देखिए पनि मृत्युको यकिन कारण खुल्न बाँकी भएको अस्पातलका फरेन्सिक डाक्टर गोपाल चौधरीले जानकारी दिए। मृत्युको कारण पत्ता लगाउन रोविनको रगतको नमूना र भिसेरा संकलन गरिएको उनले बताएका छन्।
‘उहाँको पोष्टमर्टम सकिएको छ। ब्लड र भिसेराको स्याम्पल संकलन गरेका छौं,’ उनले भने, ‘के कारणले मृत्यु भएको हो भन्ने अहिलेको लागि यकिनसँग खुल्न सकेन। तथापि उनको मुटुमा समस्या देखिएको छ।’
उक्त संकलन गरिएको नमूना नेपाल प्रहरीको सेन्ट्रल फरेन्सिक साइन्स ल्याब्रटरी सामाखुसीमा विश्लेषण गरिन्छ। त्यहाँबाट रिपोर्ट आएपछि मात्रै विस्तृत मृत्युको कारण खुल्ने उनले बताए।
‘भिसेरा भनेको चाहिँ लिभरको, किड्नीको टुक्रा र पेटमा भएका वस्तुको परीक्षण गरिने हो। त्यसको रिपोर्टबाट मात्रै यकिनसँग भन्न सकिन्छ,’ उनले भने।
परिवारले रोविनको शव बुझिसकेका छैनन्।
मंगलबार साँझ ६ बजे रोविन तामाङकी श्रीमती र दिदीले पटकपटक फोन गर्दा पनि उठाएका थिएनन्। रोविनले फोन नउठाएपछि उनकी दिदीले प्रहरीलाई बोलाएकी थिइन्।
प्रहरीले सिँढी लगाएर झ्यालबाट हेर्दा उनी घोप्टो परेको अवस्थामा देखिएका थिए।
घरको ढोका फोडेर भित्र हेर्दा उनको मृत्यु भइसकेको थियो।