अभिनेता तथा निर्देशक सरोज खनालले नेपालभरका एकल महिलालाई फिल्म 'बगान' निःशुल्क देखाउने घोषणा गरेका छन्।
बुधबार ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फिल्मको कथा एकल महिलामा आधारित भएकाले उक्त निर्णय गरेको बताए।
कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरिएको थियो।
नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेको बताउँदै निर्देशक खनालले भने, 'हामीले ६ जना एकल आमाहरूलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गरेका छौं। हामीले ६ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमाहरूलाई बिर्सन नसकेर निःशुल्क फिल्म देखाउने निर्णय गरेका हौं।'
यसको लागि फिल्म हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ।
फिल्ममा एकल महिलाको भूमिकामा अभिनेत्री करिश्मा मानन्धर देखिएकी छन्। एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल आमाको पुनर्विवाह गर्न छोरीले गरेको संघर्षलाई फिल्ममा देखाइनेछ।
फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।
स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।
यो फिल्म असार २९ गतेदेखि प्रदर्शन हुनेछ।