अभिनेत्री मेनुका प्रधान अभिनीत फिल्म 'गुराँस' को चेक रिपब्लिकमा चलिरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ।
प्रिमियरमा फिल्मले उपस्थित दर्शकबाट तारिफ पाएको छ। फेस्टिभलमा पुगेका निर्देशक सौरभ राईले फिल्म हेर्ने दर्शकले फिल्म रूचाएको बताए। यही फिल्मको वर्ल्ड प्रिमियरमा सहभागी हुन मेनुका प्रधान पनि चेक पुगेकी थिइन्।
हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ। फिल्मले दुई पुस्ताका चरित्रमार्फत छोरी र आमाबुवाको फरक-फरक चिन्तालाई पनि उजागर गरेको छ।
'गुराँस' लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन्। फिल्ममा तुलसी खवासले गुराँसको रूपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् भने फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय छ।
सुबल केआरले छायांकन गरेको फिल्मलाई सौरभ राई र अंकिता पुरकायस्थले सम्पादन गरेका हुन्। अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन्।