निर्देशक दिपेन्द्र के खनालले फिल्म 'मेयर' बनाउने भएका छन्।
चलचित्र विकास बोर्डमा उनले फिल्मको नाम दर्ता गरिसकेका छन्।
'अहिले फिल्मको नाम मात्रै दर्ता गरिएको छ। फिल्मको सम्पूर्ण काम बाँकी छ। मेयर भन्ने बित्तिकै बालेन शाहलाई मात्र बुझ्न भएन। कोही मेयरको बायोग्राफी हो तर कसको भनेर पछि खुलाउला,' उनले भने।
यसअघि राजु गिरीले पनि 'मेयर साहेब' फिल्म बनाउने घोषणा गरेका छन्। हाल फिल्मको स्क्रिप्टमा काम भइरहेको छ। फिल्मको छायांकन छिट्टै हुने बताइएको छ।
निर्देशक खनाल यतिबेला 'पशुपति प्रसाद २ः भष्मे डन' मा व्यस्त छन्। केही समयअघि फिल्मको छायांकन सकिएको छ।
टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ।
फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।
२०७३ सालमा रिलिज भएको फिल्म 'पशुपति प्रसाद' को स्पिन-अफको शीर्ष भूमिकामा विपिन कार्की छन्। 'पशुपति प्रसाद' मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए।