दिपेन्द्र के खनाल निर्देशित फिल्म 'पशुपति प्रसाद २ः भष्मे डन' को विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ।
फिल्मलाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रूपमा प्रदर्शन गर्न लागेको हो। सोमबार निर्माण कम्पनी टुकी आर्टस र सभेन सिजबीच औपचारिक सम्झौता भएको छ।
अमेरिकाका राष्ट्रिय सिनेमा चेनहरू रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिस लगायतका हलमा करिब १ हजारदेखि १ हजार २ सय शो हुने जारी विज्ञप्तिमा उल्लेख छ।
क्यानडामा १५० शो, बेलायतका विभिन्न हलमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७५० शो र जापानमा १ सय शो हुनेछ।
यो फिल्म दशैंको फूलपातीदेखि विश्वभर एकसाथ प्रदर्शन हुनेछ। फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय छ।
फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन्।
२०७३ सालमा रिलिज भएको फिल्म 'पशुपति प्रसाद' को स्पिन-अफको शीर्ष भूमिकामा विपिन कार्की छन्। 'पशुपति प्रसाद' मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए।