मधुसुदन भट्टराईको निर्देशनमा फिल्म 'हामी तीन भाइ' बन्ने भएको छ।
शुक्रबार मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको आधिकारिक निर्माण घोषणा गरिएको हो। फिल्मको छायांकन साउन १० गतेदेखि सुरू गरिने बताइएको छ।
यसअघि दिवंगत निर्देशक शिव रेग्मीले 'हामी तीन भाइ' नाममा फिल्म बनाएका थिए। सुपरहिट फिल्मको नाम सापटी लिदै डेढ दशकपछि पुनः फिल्म निर्माण हुन लागेको हो।
फिल्ममा अभिनेता विनोद न्यौपाने, कुशल विष्ट र अभिनेत्री जाहन्वी बस्नेतको मुख्य भूमिका रहनेछ। फिल्मको मुख्य भूमिकाको लागि दुई अभिनेत्री छनौट गर्न बाँकी छ।
निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
प्रसिद्ध सिने आर्टसको ब्यानरमा निर्माण हुने फिल्ममा विनोद, कुशल र जाहन्वीसँगै राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल र पवन केसीलगायत कलाकारको अभिनय रहनेछ। साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन्।
शिव ढकालले छायांकन गर्ने फिल्मलाई बनिष शाहले सम्पादन गर्नेछन्।