चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसी विरूद्धको भिडिओ नेपालभरका हलहरूमा देखाइने भएको छ।
बिहीबार हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघलाई औपचारिक पत्र काट्दै हरेक हलमा उक्त भिडिओ प्रदर्शन गर्न निर्देशन दिइएको हो।
उक्त भिडिओ बोर्डको अफिसियल युट्युब च्यानलमा समेत राखिएको छ। भिडिओमा अभिनेत्री प्रियंका कार्की, रुबि श्रेष्ठ, डिक्की गुरुङलगायत कलाकारको अभिनय छ। भिडिओलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।
भिडिओमा चलचित्र र चलचित्रजन्य वस्तु जानेर वा अन्जानमा पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ। साथै यसमा बोर्ड अध्यक्ष भुवन केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका प्रवक्ता लालबहादुर बस्नेत र नेपाल प्रहरीका डिआइजी कुबेर कडायतको पाइरेसी सम्बन्धी कानुनी प्रावधानहरू सहितको भनाइ राखिएको छ।
बोर्डका अध्यक्ष केसीले उक्त भिडिओले दर्शकमा पाइरेसी सम्बन्धी जनचेतना जगाउने बताए। यो भिडिओ हलहरूमा फिल्म सुरू हुनुअघि प्रदर्शन हुनेछ।