आर्टमान्डुले फिल्म 'ऊनको स्वीटर' निर्माण गर्ने भएको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। म्युजिकल फिल्म निर्माण गर्दै आएको आर्टमान्डुले सांगीतिक माहोलमार्फत फिल्मको घोषणा गरेको थियो।
नविन चौहानले निर्देशन गर्ने फिल्ममा विपीन कार्की र मिरूना मगरको मुख्य भूमिका रहनेछ। 'लालपूर्जा' पछि मिरूना र विपीनको यो दोस्रो सहकार्य हो। फिल्मको कथा पनि निर्देशक चौहानले लेखेका हुन्।
चौहानले आर्टमाण्डुमार्फत 'तीनपाते, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, के माया लाग्छ र, बटौली' जस्ता म्युजिकल फिल्म निर्माण गरिसकेका छन्।
'म्युजिकल फिल्म बनाइरहँदा फिचर्ड फिल्मबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ। आज घोषणा गर्न पाउँदा खुशी छु। ममाथि अभिभारा थपिएको छ। राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ,' उनले भने।
अभिनेता विपीनले यो फिल्म आफ्नो लागि विशेष हुने बताए। 'नवीन जीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु। उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ। यो फिल्ममा धेरै कुरा समेटिएको छ। नयाँपनसँगै राम्रो हुनेमा विस्वस्थ छु,' उनले भने।
अभिनेत्री मिरूना आफू पहिल्यैदेखि आर्टमाण्डुले गरेका कामको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन्।
'उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेको छु। झन् सहकार्य गर्न पाउँदा खुशी छु। जुन चरित्र मलाई नवीन जीले भन्नुभयो, सुन्दा नै गुजबम आएको थियो। गीत पनि सुन्दा एकदमै कहिले सुटमा जाने होला भनेर आतुर भइरहेको छु,' उनले भनिन्।
फिल्म घोषणा गर्नुअघि गायक सुजन चापागाईंले शीर्ष गीतको लाइभ प्रस्तुति दिएका थिए। फिल्ममा सुजन र गायिका झुमा लिम्बु संगीत निर्देशक छन्। फिल्मका लागि शीर्ष गीत हर्क साउदले लेखेका हुन्।
फिल्ममा विपीन र मिरूनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बालगायत कलाकारको अभिनय रहनेछ। बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ।
चिन्तनराज भण्डारीले छायांकन गर्ने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्। फिल्म मंसिरको पहिलो साताबाट छायांकनमा जानेछ।