गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म 'बगान' ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार सरोज खनाल निर्देशित फिल्म 'बगान' ले पाँच दिनमा १६ लाख ६० हजार नेट कमाइ गरेको छ। उक्त जानकारी बोर्डका सदस्य रवि अधिकारीले दिएका हुन्।
मंगलबार दर्शकको उपस्थिति राम्रो देखिएको थियो। यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसहित कलाकर्मी, राजनीतिज्ञ र साहित्यकारहरूले मंगलबार साँझ ‘बगान’ हेरेका छन्।
एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो फिल्म हेरेपछि भण्डारीले फिल्मको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने बताइन्।
त्यस्तै विशेष शोमा फिल्म हेरेका राजनीतिज्ञ रविन्द्र मिश्र, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र तुलसी घिमिरेले राम्रो विषयमा फिल्म बनेको बताए।
फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।
उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन्। फिल्ममा समिर मियाँको भिएफएक्स, रेनिश फागोको कलर करेक्सन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर, मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ।