अमेरिकामा आयोजना हुन लागेको ११ औं नेफ्टा फिल्म अवार्डको मिति सरेको छ।
यसअघि साउन ६ गते (जुलाई २२) हुने भनिएको अवार्ड भदौ १७ गते (सेप्टेम्बर ३) मा हुने भएको छ। चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह सारिएको हो।
'हामी कार्यक्रमलाई भब्य बनाउने तयारीमा जुटिरहेका छौं। पछिल्लो समय कार्यक्रम रोकियो भन्ने कुरा आइरहेको छ। तर हामीले कार्यक्रम रोकेका होइनौं,' उनले भने, 'कलाकारहरूले अन्तर्वार्ताका लागि समय पाएका छैनन्। अन्तर्वार्तापछि भिसा पाउने नपाउने तय हुन्छ। तर यहाँ कलाकारले भिसा पाएनन् भनेर हल्ला फैलाइएको छ। फिल्म क्षेत्रलाई अगाडि बढाउन फिल्मकर्मीको साथ सहयोग चाहिन्छ। कार्यक्रममा आफू जान नपाएपछि कार्यक्रम हुनै नदिने एक जमात छ त्यसबाट हामी जोगिनुपर्छ।'
टेक्ससको ड्यालसमा अवार्ड समारोह तय गरिएको छ। यसअघि उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा पाँच उत्कृष्ट मनोनयन घोषणा भइसकेको छ।
अवार्डमा २०७९ सालभित्र प्रदर्शन भएका फिल्मले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन्। अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र फेम नेपालले पनि सहकार्य गर्दैछन्।