अस्कर फिल्म कलेजले युवा सर्ट फिल्म प्रतिस्पर्धा गर्ने भएको छ।
सोमबार कलेजले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धा घोषणा गरेको हो। प्रतिस्पर्धामा सहभागी हुन चाहनेले भदौ २२ गतेसम्म आफ्नो फिल्म पठाइसक्नु पर्ने जनाइएको छ।
२० वर्षमुनिको उमेर समूहलाई लक्षित प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई १ लाख नगद प्रदान गरिने छ। दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ। प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्। यसैगरी स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति दिइने छ।
फिल्म अत्यन्तै सिर्जनात्मक विधा भएको र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित फिल्म निर्माण प्रतिष्पर्धा गर्ने पहल गरिएको अस्कर कलेजका प्रधानाध्यापक रामराजा दाहालले बताए।
अस्कर फिल्म कलेजले पहिलो पटक आयोजना गरेको युवा सर्ट फिल्म प्रतिस्पर्धालाई आगामी वर्षहरूमा निरन्तरता दिइनेछ।