माेहन राईले निर्देशन गरेकाे फिल्म 'महानगर' (वान् नाइट इन काठमाडौं) को प्रदर्शन मिति तय भएको छ।
मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो। यो फिल्म भदौ ८ गतेदेखि प्रदर्शन हुनेछ।
एक साँझ दुई अपरिचित व्यक्तिको अचानक हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका छ।
यो फिल्म सन् २०२१ मा कोलकत्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो। अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङटन डिसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा यस फिल्मको अफिसियल स्क्रिनिङ भइसकेको छ।
यसका साथै इण्ड्स भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि 'महानगर' छनौट भएको छ। फिल्मले निफमा राष्ट्रिय फिल्मको क्याटेगोरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो। इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलमा फिल्मले 'मोस्ट इन्सिपिरेसनल थीम' अवार्ड तथा कार्मले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए।
फिल्ममा कार्म र मेनुकासँगै अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डेलगायत कलाकारको अभिनय छ।
माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सन्स सँगको सहकार्यमा मिडल वे फिल्म्सले निर्माण गरेको 'महानगर' को लेखन निर्देशन राईले नै गरेका हुन्।
नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई परीक्षित झाले सम्पादन गरेका छन्। फिल्ममा किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत रहेको छ।
फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर हुन्।