नेपालको सौन्दर्य प्रतियोगिता 'मिस युनिभर्स नेपाल २०२३' को आवेदन खुला भएको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रबीच मिस युनिभर्स नेपालको चौथो संस्करणको घोषणा गरिएको हो। उमंग क्रियसन प्रालिद्वारा आयोजित यस प्रतियोगिताको आवेदन खुला गरिएको मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले कार्यक्रममार्फत जानकारी दिएकी हुन्।
प्रतिस्पर्धीको मापदण्डलाई खुकुलो बनाउँदै नियम पनि सार्वजनिक गरिएको छ। यस संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन। समलैंगिक महिला, गैरआवासीय नेपाली महिला, विवाहित महिला र आमाहरूले समेत भाग लिन पाउने व्यवस्था गरिएको छ।
'मिस युनिभर्स नेपाल २०२३' को विजेताले '७२ औं मिस युनिभर्स' मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यो प्रतियोगीतामा सहभागीता जनाउनका लागि मिस युनिभर्सको वेबसाइटमा गएर वा खल्ती एप प्रयोग गरी आफ्नो नाम दर्ता गर्न सकिनेछ।
यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरूले जुन १५ देखि अगस्ट ३ सम्म नाम दर्ता गर्न सक्नेछन्। ४ अगस्टमा आयोजकले क्वाटरफाइनलको घोषणा गर्नेछ। यस्तै, १४ अगस्टमा सेमिफाइनलिस्टको घोषणा गर्ने आयोजकले जनाएको छ। मिस युनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरूको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ।
सेप्टेम्बर ८ मा 'मिस युनिभर्स नेपाल २०२३' को घोषणा गरिनेछ। विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछिन्। विजेतासँगै चार उपविजेता पनि घोषणा गरिने बताइएको छ।
मुख्य उपाधिसँगै 'मिस इको इन्फिनिटी, मिस आइसीटी, मिस लाइफस्टाइल व्यञ्जन, सामाजिक प्रभाव नेता, मार्टिनी सन एन्जल, मिस फ्रि र फियरलेस' विधामा पनि प्रतियोगीहरूलाई पुरस्कृत गरिनेछ। यो प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन्।