टेलिभिजन रियालिटी शो 'महागफाडी' को औपचारिक घोषणा गरिएको छ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच शोको घोषणा गरिएको हो। साउन १५ गतेबाट डिजिटल अडिसन सुरू हुने शोको प्रसारण असोज तेस्रो साताबाट गरिनेछ।
टेलिभिजन रियालिटी शो 'महागफाडी' लाई नरेशनाथ योगीले निर्देशन गर्नेछन्। उनी फिल्म लेखक, कोरियोग्राफर र द्वन्द्व निर्देशक समेत हुन्।
'मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो। जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरूका लागि महागफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुनेछ,' उनले कार्यक्रममा भने।
ढाकाटोपी फिल्म्सको ब्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागीता जनाउन सक्नेछन्। यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्नेछ। तर प्राथमिकता भने नेपाली भाषा नै रहनेछ।
यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिनेछ। फिजिकल रूपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन्। १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिनेछ भने पहिलो वर्ल्डटुरको सुरूवात क्यानडाबाट गरिनेछ।
हास्यव्यग्य कवि शैलेन्द्र सिंखडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ निर्णायक रहने कार्यक्रमलाई कामेश्वर चौरासियाले होस्ट गर्नेछन्।
'महागफाडी' को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्ट रनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए।
कुनै एक टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोकको हालसम्म डिजिटल राइट्स भने बेचिएको छैन। चाँडै 'महागफाडी' प्रसारण हुने टेलिभिजन च्यानल र डिजिटल पार्टनर सार्वजनिक गर्ने तयारी आयोजकको छ।